
22/07/2025
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको नेतृत्वमा दाबी छोड्न तयार नभएको स्पष्ट रूपमा घोषणा गरेकी छिन्। भंगालस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, "म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ।
" यस अभिव्यक्तिमार्फत उनले आफू दृढ र अडिग रहेको सन्देश दिएकी हुन्। १४ असारमा सक्रिय राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेपछि भण्डारी एमालेभित्रको आन्तरिक प्रतिस्पर्धामा पुनः प्रवेश गरेकी हुन्। त्यसयता पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच गहिरो मतभेद देखिन थालेको छ।
ओलीले भण्डारीलाई पार्टीमा फर्कन नदिन निर्देशन दिएको र पार्टी विभाजनको संकेतसमेत देखिएको बताइएको छ। एमालेको केन्द्रीय कमिटी बैठकमा भण्डारीको पक्ष र विपक्षमा खुलेर बहस भइरहेका छन्। अध्यक्ष पदको लागि भण्डारीले खुला रूपमा दाबी गरेपछि एमालेभित्रको शक्ति सन्तुलनमा ठूलो हलचल आएको छ। यससँगै भण्डारीको पछिल्लो अडानले एमालेको आगामी महाधिवेशन र नेतृत्व चयनमा नयाँ मोड ल्याउने सम्भावना देखिएको छ।