19/03/2026
ट्रम्प–नेतान्याहुबीच बढ्दो रणनीतिक दरार :
ट्रम्प भन्छन्-आक्रोशमा आएर चालिएको हिंस्रक कदम, नेतान्याहु भन्छन्-अमेरिकालाई युद्धमा जबरजस्ती घिसारेको छैन
पछिल्लो समय मध्यपूर्वमा चर्किएको द्वन्द्वले इरान र इजरायललाई मात्र नभई इजरायल र उसको सबैभन्दा ठूलो सहयोगी राष्ट्र अमेरिकाबीचको आन्तरिक भूराजनीतिक सम्बन्धलाई पनि सतहमा ल्याइदिएको छ। विशेषगरी, इरान र कतारको साझा प्राकृतिक ग्यास क्षेत्र ‘साउथ पार्स’ मा इजरायलले गरेको आक्रमण र त्यसको जवाफमा इरानले कतारमाथि गरेको हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सार्वजनिक अभिव्यक्तिहरूमा स्पष्ट विरोधाभास देखिएको छ। यी परस्पर विरोधी भनाइहरूले दुई घनिष्ठ मित्र राष्ट्रहरू एउटै युद्ध लडिरहेका भए पनि उनीहरूको गन्तव्य र प्राथमिकता फरक–फरक दिशामा उन्मुख हुँदै गएको संकेत गर्छन्।
आक्रमणको स्वामित्व र समन्वयमा देखिएको अविश्वास
यस विवादको चुरो इजरायलले इरानमाथि गरेको आक्रमणको पूर्वजानकारीलाई लिएर सुरु भएको हो। एकातिर ट्रम्पले इजरायलको कदमलाई "आक्रोशमा आएर चालिएको हिंस्रक कदम" भन्दै उक्त आक्रमणबारे अमेरिका पूर्ण रूपमा अनभिज्ञ रहेको दाबी गरेका छन्। अर्कोतिर, इजरायली सञ्चारमाध्यम र उच्च अधिकारीहरूले यो सम्पूर्ण अपरेसन ट्रम्प र अमेरिकी प्रशासनसँगको पूर्व समन्वयमै भएको दाबी गरेका छन्। एउटै सैन्य कारबाहीको बारेमा दुई देशको नेतृत्वबाट आएका यी विपरित दाबीहरूले उनीहरूबीच सूचना आदानप्रदान र रणनीतिक समन्वयमा गम्भीर अविश्वास पैदा भएको देखाउँछन्। ट्रम्पले सार्वजनिक रूपमै इजरायललाई थप आक्रमण नगर्न चेतावनी दिनु र भविष्यमा "इजरायलको सहमति बिना नै" अमेरिकाले इरानमाथि भीषण हमला गर्न सक्ने धम्की दिनुले इजरायलको एकलौटी निर्णय प्रक्रियाप्रति वासिङ्टनको चरम असन्तुष्टिलाई उजागर गर्दछ।
युद्धको अन्तिम लक्ष्य : सत्ता परिवर्तन कि रणनीतिक विजय ?
ट्रम्प र नेतान्याहुबीचको यो मतभेद केवल एउटा आक्रमणको स्वामित्वमा मात्र सीमित छैन; यो युद्धको अन्तिम उद्देश्यसँग जोडिएको गम्भीर वैचारिक र रणनीतिक भिन्नता हो। नेतान्याहु र इजरायली संस्थापन पक्ष इरानको सत्ता परिवर्तनलाई आफ्नो राष्ट्रिय सुरक्षाको अन्तिम सर्त मान्छन्। त्यसैले नेतान्याहु यो युद्धलाई "जति समय लाग्छ त्यति समय" लम्ब्याएर इरानको सम्पूर्ण संरचना भत्काउन चाहन्छन्। तर, ट्रम्पको प्राथमिकता नितान्त फरक छ। ट्रम्प इरानको आणविक र सैन्य क्षमतालाई कमजोर बनाएर एउटा 'सम्मानजनक र छिटो विजय' घोषणा गर्न चाहन्छन्। उनी इरानमा सत्ता परिवर्तन गर्ने जस्तो अनन्तकालसम्म चल्ने असम्भव र खर्चिलो युद्धको दलदलमा फस्न चाहँदैनन्।
आन्तरिक राजनीतिको दबाब र स्वार्थको टकराव
यी दुई नेताका फरक रणनीतिहरूको पछाडि उनीहरूको आन्तरिक राजनीतिक बाध्यताले ठूलो भूमिका खेलेको छ। ट्रम्पका लागि यो युद्ध विस्तारै निल्नु न ओकल्नु जस्तो बन्दै गएको छ। युद्धका कारण विश्वव्यापी रूपमा बढेको इन्धनको मूल्य र अमेरिकाभित्र युद्धको समर्थन ५० प्रतिशतभन्दा तल झर्नुले आगामी मध्यावधि चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीलाई ठूलो नोक्सान पुर्याउन सक्ने जोखिम छ। साथै, अमेरिकी अधिकारी जो केन्टले 'इजरायली दबाबमा अमेरिका युद्धमा होमिएको' भन्दै राजीनामा दिएपछि ट्रम्पमाथि आन्तरिक दबाब झनै बढेको छ।
यही घरेलु आलोचनालाई मत्थर पार्न नेतान्याहुले ट्रम्पको अहङ्कारलाई सन्तुष्ट पार्ने कूटनीतिक चाल चलेका छन्। "ट्रम्पलाई कसैले आदेश दिन सक्दैन" भन्ने नेतान्याहुको भनाइ मूलतः अमेरिकामा उठिरहेको 'इजरायली प्रभाव' को भाष्यलाई खण्डन गर्ने प्रयास हो। तर यथार्थमा, नेतान्याहुका लागि यो युद्ध जति धेरै लम्बियो, उनको धरमराइरहेको राजनीतिक भविष्य र प्रधानमन्त्री पद त्यति नै सुरक्षित हुने अवस्था छ। किन कि नेतान्याहुमाथि इजरायलमा भ्रष्टाचारसम्बन्धि गम्भीर प्रकृतिका तीनवटा मुद्दाहरु चलिरहेका छन् । उनी आफू जेल जानबाट बच्न पनि यो युद्ध यति चाँडै अन्त्य होस् भन्ने चाहँदैनन् ।
समग्रमा भन्नु पर्दा, इजरायल र अमेरिका अझै पनि बलियो सैन्य गठबन्धनमै छन् र उनीहरूको साझा दुस्मन इरान नै हो। तर, जब युद्धको व्यवस्थापन, समयसीमा र अन्तिम परिणामको कुरा आउँछ, ट्रम्प र नेतान्याहुका बाटाहरू छुट्टिन थालेका छन्। ट्रम्प युद्धको लगाम आफ्नो हातमा राखेर यसलाई छिट्टै किनारा लगाउन चाहन्छन् भने नेतान्याहु अमेरिकी शक्तिको आडमा मध्यपूर्वको नक्सा र सत्ता समीकरण नै बदल्ने लामो दौडमा छन्। एउटै डुङ्गामा सवार भए पनि दुई फरक दिशामा खियाउन खोज्ने यी दुई नेताको प्रवृत्तिले आगामी दिनमा यो गठबन्धनलाई थप जटिल र चुनौतीपूर्ण बनाउने देखिन्छ ।
#इरानयुद्ध