16/10/2026
😮😮😮
चलचित्र निर्देशक तथा कलाकार शोभित बस्नेतले गम्भीर बिरामी परेका बुबाको अस्पतालको संवेदनशील अवस्था लाई भिडियो खिचेर भ्लग बनाएको भन्दै युट्युबर तथा पूर्व फुटबल खेलाडी डोना थापा प्रति आक्रोश व्यक्त गरेका छन्। फेसबुकमा एक स्टाटस लेख्दै बस्नेतले पारिवारिक संकट र बिरामीको पीडा लाई भ्लगको विषय बनाउने कार्यलाई ‘साइबर बिमारी’को संज्ञा दिएका हुन्।
अस्पतालको शय्यामा रहेका बुबाको दृश्यलाई कन्टेन्ट बनाएको प्रति आपत्ति जनाउँदै निर्देशक बस्नेतले लेखेका छन्, “बाबु अस्पतालको बेडमा छ, श्रीमतीलाई समेत चिनेको छैन तर छोरा भने ‘किन श्रीमानले श्रीमती चिनेनन्’ भन्दै भ्लग बनाउँदै पोस्ट हान्न व्यस्त छ।”
संवेदनशील घडीमा भिडियो खिच्ने मानसिकतामाथि गम्भीर प्रश्न उठाउँदै उनले थपेका छन्, “भोलि यदि तलमाथि केही भयो भने त्यो बेलाको पनि भ्लग आउँछ १०० प्रतिशत। मेरो एउटै प्रश्न- मान्छेहरू यस्तो बेलामा पनि कसरी सकेको होला भिडियो खिच्न? यिनीहरू पनि एउटा साइबर बिरामी हुन्।”
डोना थापाका बुबा अचानक स्वास्थ्यमा जटिल समस्या (सिजर अट्याक र मस्तिष्कमा रगत जमेपछि) देखिएपछि काठमाडौँको ग्रान्डी अस्पतालको आईसीयूमा भेन्टिलेटरमा उपचाररत छन्। बुबाको स्वास्थ्य अवस्था, उपचारको विवरण र परिवारको स्थितिलाई लिएर डोनाले आफ्नो युट्युब च्यानल तथा सामाजिक सञ्जालमा लगातार शृंखलाबद्ध भिडियो तथा भ्लगहरू पोस्ट गर्दै आइरहेका छन्।
उपचारका लागि भन्दै भिडियोमा आर्थिक सहयोग संकलन गर्न क्युआर कोडसमेत राखिएपछि सामाजिक सञ्जालमा यो विषय यसअघि नै विवादित र आलोचित बनेको थियो।
सामाजिक सञ्जालमा भ्युज, फलोअर्स र लाभका लागि परिवारका सदस्यहरूको गम्भीर रोग तथा मृ*त्युको सन्निकट अवस्थालाई समेत व्यापार र प्रचारको माध्यम बनाउने पछिल्लो प्रवृत्तिप्रति लक्षित गर्दै निर्देशक बस्नेतले यस्तो टिप्पणी गरेका हुन्। तर डोना थापाले भने आलोचकका कुरा नसुनी आफ्ना पारिवारिक कुरा बाहिर ल्याउने गरेका छन्। उनले आफ्नो सबै समय परिवारको खुसीका लागि दिएका छन् । बुबा बचाउन उनले सम्पूर्ण मेहनत लगाएका छन् ।