
28/06/2025
पोखरा महानगरपालिकाको सहयोग तथा युवा पत्रकार सञ्जाल गण्डकीद्वारा आयोजित ‘सञ्चारकर्मीहरूका लागि साइबर सुरक्षा, स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ‘साइबर अपराध र मिडिया: चुनौती, प्रवृत्ति र असल अभ्यास’ शीर्षकमा प्रदेश प्रहरी कार्यालय पोखराका साइवर सेलका प्रहरी नायव निरीक्षक विवश लामिछाने प्रशिक्षण दिए । यस्तै ‘सञ्चारकर्मीहरूका स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयमा अधिवक्ता हिमलाल पराजुलीले प्रशिक्षण प्रदान गरे ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले मानिसहरूमा फैलिएको नैराश्यता र सामाजिक वितृष्णा प्रतिकुल परिस्थितिमा विद्युतीय अपराधको एक श्रृखला बन्न पुग्ने गरेको उल्लेख गरे। जान वा अन्जानमा मानिसहरूबाट विभिन्न गल्तीहरू हुने गरेको तर, त्यो अपराधको हदसम्म पुग्ने कुराको हेक्का राख्ने नगरिएको प्रति उनले सचेत गराए ।
नगर प्रमुख धनराज आचार्यका सचिवालय प्रमुख पूर्ण लामाले सञ्चार क्षेत्रले आफ्नो पेसागत मर्यादाको सीमा भित्र रहेर जनमानसमा नयाँ आशाको सञ्चार गर्नुपर्नेमा जोड दिए । सामाजिक रूपमा समुन्नत र सुसंस्कृत समाज निर्माणमा सञ्चार क्षेत्रको भूमिका अतुलनीय रहने उनले उल्लेख गरे ।
विभिन्न समयमा सञ्चारकर्मीहरू समेत साइवर अपराधका नाममा धरपकडमा पर्ने क्रम बढेपछि साइबर अपराध सम्बन्धी डिजिटल साक्षरता अभिवृद्धि गर्न यस प्रकार कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष भीम थापाले बताए ।
२५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन सञ्जालका महासचिव सुरेशराज अधिकारीले गरेका थिए ।