16/10/2025
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले अतिक्रमित जग्गा फिर्ता गर्ने अभियानमा ऐतिहासिक सफलता हासिल गरेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले हालसम्म २०८ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याइएको र यसको बजार मूल्य करिब २३ अर्ब रुपैयाँ बराबर हुने बताएका छन्।
बालेनका अनुसार महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकारका आधारमा ‘सार्वजनिक सम्पत्तिमा जनताको पहुँच वृद्धि गर्ने’ नीतिअन्तर्गत निरन्तर काम गर्दै आएको छ। उनका शब्दमा, “हामी काठमाडौं महानगरमा आएपछि २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता गरेका छौं। अबको लक्ष्य करिब १ हजार ८५९ रोपनी १४ आना— झण्डै २ खर्ब मूल्य बराबरको जग्गा—मुक्त गराउने हो।”
फिर्ता गरिएका जग्गा पुनः कब्जामा नपरोस् भनेर महानगरले ती क्षेत्रहरूलाई खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, हरित क्षेत्र र सार्वजनिक स्थलका रूपमा विकास गर्न थालिएको पनि उनले उल्लेख गरे। उनका अनुसार अतिक्रमणमा परेका केही खोला कोरिडोर पनि सफा गरिएका छन्।
सार्वजनिक सम्पत्तिको दीर्घकालीन संरक्षणका लागि पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई आधार मानेर कार्यान्वयन समिति गठन गरिएको मेयर बालेनले जनाए। उनले भने, “समितिले भोलिदेखि औपचारिक रूपमा काम सुरु गर्नेछ।”
रावल आयोगले काठमाडौंका विभिन्न स्थानमा मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पहिचान गरिसकेको छ। ती सम्पत्तिहरूलाई सार्वजनिक उपयोगका लागि फिर्ता ल्याउने विस्तृत योजना तयार पारिएको पनि मेयरको भनाइ छ।
“यो अभियान केवल अतिक्रमण हटाउने अभियान होइन,” बालेनले लेखेका छन्, “यो जनताको अधिकार स्थापना गर्ने, सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने र शहरी स्वाभिमानको रक्षा गर्ने आन्दोलन हो।”
उनले काठमाडौंका नागरिक र सरोकारवालाहरूलाई सहयोगका लागि आह्वान गर्दै भने, “यदि तपाईंलाई सार्वजनिक सम्पत्ति कब्जा गरेको जानकारी छ भने कृपया शहरी व्यवस्थापन विभागमा खबर गर्नुहोस्।”
CREATED BY RAJESH GM ***nshah