दाङ जिल्लाको संक्षिप्त परिचय
"
दाङ जिल्लाको संक्षिप्त परिचय"
नेपालको मानचित्रमा ८२ डिग्री २’ देखि ८२ डिग्री ५४’ सम्म पूर्वी देशान्तर र २७o ३६’ देखि २८o २९’ सम्म उत्तरी अक्षांश बीच फैलिएर रहेको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने राप्ती अञ्चलको दाङ जिल्लाको क्षेत्रफल २९५५ वर्ग कि.मि. छ । यस जिल्लाको दक्षिणी सिमाना भारतको उत्तर प्रदेशका बलरामपुर र श्रावस्ती गरी २ वटा जिल्ला सँग जोडिएको छ भने उत्
तरमा राप्ती अञ्चलकै सल्यान, प्यूठान र रोल्पा जिल्लाहरु पर्दछन् । त्यसै गरी पूर्वी सिमानामा राप्ती अञ्चलको प्यूठान र लुम्बिनी अञ्चलको अर्घाखाँची तथा कपिलवस्तु जिल्लाहरु पर्दछन् भने पश्चिममा राप्ती अञ्चलकै सल्यान र भेरी अञ्चलको बाँके जिल्लाहरु पर्दछन् । पूर्व पश्चिम राजमार्गको झण्डै ८० कि.मि. क्षेत्र अोगट्ने यो जिल्ला राप्ती अन्चलको प्रवेश तथा निकाश द्वारको रुपमा रहेको छ ।
भौगोलिक रुपमा यस जिल्लामा भित्री मधेसका समथर फाँटहरु, यी फाँटहरुलाई चारैतिरवाट घेर्ने साना तथा मध्यम पहाडहरु समेतवाट निर्मित दुई उपत्यकाहरु र पहाडी धरातल (महाभारत तथा चुरे) समेत रहेका छन् । यी उपत्यकाहरु मध्ये उत्तरी अर्थात माथिल्लो उपत्यका ‘दाङ’ र दक्षिणी अर्थात तल्लो उपत्यका ‘देउखुरी’ को नामवाट परिचित छन् । दाङ उपत्यका नेपालकै सर्वाधिक ठुलो उपत्यकाको रुपमा मात्र परिचित नभई एसियाकै ठूला उपत्यकाहरु मध्ये एक मानिन्छ । थारु, क्षेत्री, व्राम्हण, नेवार, मुसलनमान र दलित समुदायको मिश्रित वसोवास रहेको यो जिल्लाको जनसंख्या २०६८ को जनगणना अनुसार महिला २,९३,७४२ र पुरुष २,६४,११० गरी कूल ५,५७,८५२ रहेको छ ।
राजनैतिक रुपमा विभाजन
निर्वाचन क्षेत्र ५
ईलाका १३
नगरपालिका २
गा.वि.स. ३९
दाङ जिल्लाको महत्वपूर्ण प्राकृति स्रोतहरु
राप्ती अञ्चलका पाँच जिल्लामध्ये दाङलाई महत्वपूर्ण र प्रकृतिको धनी भनेर लिइन्छ । यसको कूल क्षेत्रफल २ हजार ९ सय ५५ वर्ग किलोमिटर छ । ८० प्रतिशत भित्री मधेश र २० प्रतिशत जमिन पहाडी भू-भाग पर्दछ । यो जिल्ला सुन्दर फाँटका कारण आकर्ष र मनमोहक छ ।
यस जिल्लाको देउखुरी उपत्यकामा राप्ती नदी छ भने दाङ उपत्यकामा बबई, सिस्ने, सेवार, कटुवा, पातु, ग्वार आदि धेरै साना र ठूला खोलाहरु छन् । बाह्रकुने, चरिङ्गे, भोटे, सुकी आदि यस उपत्यकाका मुख्य दहहरु हुन् । पर्यटकीय आकर्षणको रुपमा पुरन्धाराको झरना, चमेरे गुफा, काभ्रेको गढीलेक, सुकौराको दंगीशरण, गुफास्थलहरु पनि यसै जिल्लामा अवस्थित छन् । यस जिल्लामा विभिन्न धार्मिकस्थलहरु अम्बिकेश्वरी, बाह्रकुने दह, सिद्ध रत्ननाथ मन्दिर, पाण्डवेश्वर, रिहार, गढिटाकुरा प्रख्यात छन् ।
दाङ राप्ती अञ्चलको प्रमुख व्यापारिक केन्द्र हो । तर, वर्तमान समयमा बढी कारोवार बुटवलबाट नै हुने गर्दछ । खाद्यवस्तुदेखि केही आधारभूत वस्तुहरु समेत बुटवलबाट अन्य ठाउँमा निर्यात हुने गर्दछ । सल्यान र रुकुम जिल्लाको अधिकांश व्यापारिक कारोवार दाङ जिल्लाबाट हुने गर्दछ । दाङ उपत्यकाको घोराही, तुलसीपुर, नारायणपुर आदि क्षेत्रहरु प्रमुख व्यापारिक केन्द्र हुन् भने बिजौरी, पर्सा, मानपुर, पुरन्धारा, उरहरी, राजपुर, स्यूजा, मर्र्कुटी आदि स्थानहरु पनि स-साना व्यापारिकस्थलका रुपमा विकसित भइरहेका छन् ।
दाङ प्रविधि र शिक्षाको क्षेत्रमा पनि अगाडि बढिसकेको छ । यहाँ इञ्जिनियरिङ कलेज, विभिन्न टेक्निकल विषयहरु पनि पढाइन्छ । शिक्षा क्षेत्रमा वाणिज्य, एड, मानविकी, विज्ञानका साथै अन्य विषयहरु पनि सञ्चालित छन् । यसबाट के अर्थ आउँछ भने दाङ उपत्यका प्रविधि र शिक्षाको क्षेत्रमा विकसित भइसकेको छ ।
यस उपत्यकामा कानून, चेकजाँच जस्ता विभिन्न कार्यालयहरुको व्यवस्थापन र विस्तार भइसकेका छन् । यहाँ पूर्वाधारको पनि विकास भएको छ । प्रकृतिको धनी दाङमा आएर घुम्दा यहाका प्राकृतिक आकर्षण, साधन, स्रोत अवलोकनपछि कोही पनि फिर्ता जान दोधारमा पर्छ ।
स्रोत : जिल्ला प्रशासन कार्यालय दाङ