08/09/2026
भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलले सो योजना सार्वजनिक गरेका हुन्।
प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत करिब एक हजार विद्यार्थीलाई समेट्ने यो योजनाअन्तर्गत पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास र खानालगायतका सुविधा उपलब्ध गराइने मन्त्री पोखरेलले जनाए।
निजी विद्यालय सञ्चालकका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान, एपिन र मन्टेश्वरी एसोसिएसन नेपाललगायत सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा यो कार्यक्रम अघि बढाइएको उनले बताए।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित १५ वटा स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएको छ भने यसबाट १९ वटा विद्यालय क्षतिग्रस्त हुनुका साथै ९ हजार बढी विद्यार्थीको सिकाइ प्रभावित भएको छ।
प्रभावित विद्यार्थीको तथ्याङ्क स्थलगत सर्वेक्षण, वडा र स्थानीय तहको सिफारिसका आधारमा संकलन गरी प्राथमिकताका आधारमा सहयोग वितरण गरिने मन्त्रालयले जनाएको छ।