20/06/2025
हत्तार-हत्तार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को अन्तर्राष्ट्रिय इमिग्रेशनतर्फ जाँदै थिएँ।
त्यतिकैमा मेरो नजर एक भावुक दृश्यमा पर्यो—एक जना बुढा बाबा र उहाँका छोरा, आँखाभरि आँसु, युकेको उता रहेका ठूला छोरालाई भेट्न नपाइने भयो भनेर सिक्योरिटी बहिनीसँग हारगुहार गर्दै हुनुहुन्थ्यो।
म रोकिएँ।
"के भयो? तपाईंहरू को हुनुहुन्छ?" मैले सोधेँ।
उहाँका छोराले भक्कानिँदै भने, "दिदी, हामी युकेको दाइलाई भेट्न जान लागेका थियौं। तर इमिग्रेशन डेस्कमा बस्ने सरले 'नाता प्रमाणित कागजात छैन' भन्दै फिर्ता पठाइदिनुभयो।"
मैले झसङ्ग हुँदै भनें, "त्यो त एम्बेसीले हेर्ने कुरा हो नि! इमिग्रेशनले किन माग्ने? अनि एम्बेसीले भिसा दिएको छ भने यहाँ किन रोकियो?"
मैले आग्रह गरेँ, "हामी एकचोटि ती कर्मचारीलाई भेटौं, कुरा प्रष्ट गरौं।"
छोरा भाइले मलाई सो डेस्क देखाए तर डेस्क खाली थियो। बुझ्दा, ती कर्मचारी बाथरुम जानुभएकै रहेछ।
केही समयपछि ती पुरुष कर्मचारी फर्किनुभयो। मलाई देख्दा मुस्कुराउँदै भन्नुभयो, "ओहो! दिदी, जर्मनी फर्कन लाग्नु भएको हो?"
मैले पनि हाँस्दै भनें, "हो, केही दिनका लागि।"
मैले त्यही बेला ती बाबा–छोराको कुरा राख्न थालेको थिएँ, तर उहाँले कुरै नसकिदिँदै सोध्नुभयो, "पासपोर्ट र बोर्डिङ पास दिनुस्।"
छोरा भाइ अलमलिँदै भन्न थाले, "सर, तपाईंले नै त पहिले हामीलाई डकुमेन्ट पुगेन भनेर फिर्ता पठाउनु भएको थियो नि!"
तर कर्मचारीले तुरुन्तै जवाफ दिनुभयो, "तपाईंलाई त म अहिले मात्र भेट्दै छु। मैले त यस्ता कुरा भनेको छैन।"
छोरा भाइ अझै ‘कन्फ्युज्ड’ अनुहारमा हेर्दै थिए।
त्यसपछि हामी तीनैजना—बाबा, छोरा र म—इमिग्रेशनको अटोमेटिक ढोका हुँदै भित्र छिर्यौं।
भित्र छिर्नासाथ ती बुढा बाबाले मलाई अँगालो हाल्दै भावुक स्वरमा भने, "छोरी, धेरै धेरै धन्यबाद!"
छोरा भाइको भने अनुहारमा अझै अलमलिएको भाव थियो। त्यो कर्मचारीको जवाफले उहाँलाई अझै अन्योलमा पारेको थियो।
हामी भित्र छिरिसकेपछि, ब्याग चेकिङ सकियो। सेल्फी खिच्ने बेलासम्म पनि त्यो ‘कन्फ्युज्ड फेस’ उस्तै थियो! 😊
– Ashika Tamang