04/29/2026
प्रेस विज्ञप्ति
अस्पताल/स्वास्थ्य संस्था भित्र हातपात, तालाबन्दी, तोडफोड लगायत कानुन विपरीत गतिविधि नगर्न/नगराउन सम्बन्धमा
पछिल्लो समयमा केही व्यक्तिहरुले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र स्वीकृति बिना प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीहरुको फोटो तथा भिडियो खिच्ने, अन्तरवार्ताको नाममा भड्काउने र स्वास्थ्य उपचारमा खटिएका चिकित्सक तथा कर्मचारीहरुको कार्यसम्पादनमा अवरोध पुर्याउने गरेको गुनासो यस मन्त्रालयमा प्राप्त भएको छ। यस प्रकारको कार्यले बिरामीको गोपनीयताको हनन हुनुका साथै संवेदनशील क्षेत्रमा अशान्ति फैलिन गई समग्र उपचार प्रक्रियामा नै गम्भीर असर पर्नेप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा स्वीकृति बिना भिडियो बनाउने, चिकित्सक तथा कर्मचारीलाई अमर्यादित तरिकाले प्रस्तुत हुने वा अनुचित दबाब दिने कार्य प्रचलित कानुनको ठाडो उल्लङ्घन हो। “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६” को दफा ३ ले उपचारमा बाधा पार्न नहुने स्पष्ट व्यवस्था गरेको छ। सोही दफाको खण्ड (च) मा “स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्ने, कुनै किसिमले धम्की दिने, गाली गलौज गर्ने वा अमर्यादित वा अपमानजनक व्यवहार गर्न नपाइने” स्पष्ट कानुनी व्यवस्था रहेको छ। साथै मुलुकी अपराध संहिता २०७४ को दफा २९५ मा अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न नहुने भन्ने व्यवस्था रहेकोमा अस्पताल/स्वास्थ्य संस्था परिसरभित्र सम्बन्धित संस्थाको अनुमति नलिई फोटो/भिडियो नखिच्न तथा प्रकाशन/प्रसारण नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ। उक्त कानुनी व्यवस्था विपरीत हुने गरी कसैले उल्लिखित कार्य गरे/गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई स्मरण गराइन्छ। साथै, सम्पूर्ण सर्वसाधारण तथा सरोकारवालालाई अस्पताल तथा स्वास्थ्य संस्थाको पूर्व स्वीकृति बिना कुनै पनि प्रकारको फोटो वा भिडियो नखिच्न/नबनाउन र कानुन विपरीतका गतिविधि नगर्न/नगराउन मन्त्रालय हार्दिक अनुरोध गर्दछ। यस सम्बन्धमा बेवास्ता गरी यस्ता गैरकानुनी कार्य गरे/गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरुलाई जानकारी दिइएको व्यहोरा समेत यसै विज्ञप्तिमार्फत अवगत गराइन्छ।
साथै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा प्रदायक संस्थाबाट उपचारको क्रममा कुनै कमजोरी भएको महसुस भएमा सम्बन्धित निकायमा उजुरी गरी सो को तथ्यपरक छानबिन र समाधान गर्ने प्रबन्ध रहेको समेत जानकारी गराइन्छ।
मिति: २०८३/०१/१६