08/23/2026
नेपाली युवाले बनाए मैनबाट चल्ने रकेट
नेपालको एयरोस्पेस क्षेत्रमा नयाँ सम्भावना देखिएको छ। नेपाली स्टार्टअप Mach24 Orbitals ले विकास गरेको मैन (Wax) आधारित इन्धन प्रविधिबाट चल्ने हाइब्रिड रकेट को परीक्षण प्रक्षेपण यही हप्ता गर्ने तयारी गरेको छ।
सन् २०२४ मा मोहन तामाङको नेतृत्वमा स्थापना भएको Mach24 Orbitals ले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) सँग सहकार्य गर्दै हाइब्रिड रकेट इन्जिन प्रविधिमा काम गर्दै आएको छ। कम्पनीले यसअघि इन्जिनका विभिन्न चरणका परीक्षणहरू समेत गरिसकेको जनाएको छ।
यदि यो परीक्षण सफल भए नेपाल पनि हाइब्रिड रकेट प्रविधि परीक्षण गर्ने देशहरूको सूचीमा समावेश हुनेछ। निजी क्षेत्रबाट भइरहेको यो प्रयासले नेपालको एयरोस्पेस तथा अन्तरिक्ष अनुसन्धान क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
जापान, दक्षिण कोरिया र भारतजस्ता देशहरूले यस क्षेत्रमा प्रगति गरिसकेका छन्। अब नेपाली युवाले विकास गरेको यो मैन आधारित रकेट प्रविधिको परीक्षण सफल भए नेपालका लागि यो ठूलो प्राविधिक उपलब्धि बन्नेछ।