
09/04/2025
Mahakavi Laxmiprasad Devkota
लक्ष्मीप्रसाद देवकोटा लाई वि.सं. २०१५ मा क्यान्सर लागेको थाहा भएको थियो। २०१६ सालमा उपचारका लागि सुरुमा भारत लगियो। त्यहाँ उनको आन्द्रा काटियो। पछि रुस लगियो। रुसका चिकित्सकहरूले सबैलाई गाली गरे। उनको आन्द्रा काट्नै नपर्ने भनेर। रोग लागेपछि उनको जीवन थप कष्टकर बन्यो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिएपछि उनलाई आफू मृत्युको मुखमा आएको पक्का भएको थियो। त्यसपछि उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थालेका थिए। आफ्नो रोगको उपचारका लागि आवश्यक औषधि खरिद गर्न नसकेको दाबी गरेका थिए, यसबाहेक उनले खानासमेत किन्न निकै सङ्घर्ष गरिरहेका थिए।
शान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए जुन यस प्रकार छ "मृत्यु मेरो अगाडि छ। म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिनँ। म आफूलाई शान्ति दिन सक्दिनँ । म उठ्न सक्ने भएँ, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ।" जीवनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने 'मैले आफ्नो जिन्दगी हरिनाम नजपेर, नास्तिक भएर बिताएछु, अब जान आँटिहालें" अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कविता मार्फत यसरी व्यक्त गरे।
शान्तभवनमा उनलाई हेर्न भीड लाग्ने गर्थ्यो। एकदिन राजा महेन्द्र उनको स्वास्थबारे जानकारी लिन आएका थिए। राजाले महाकविलाई सोधे, "तिमीलाई के चाहिन्छ?" त्यतिबेला देवकोटाले भने, "केही चाहिदैन सरकार, एउटा चुरोट भए पुग्छ।" त्यसपछि राजाले डुमरिया ब्रान्डको चुरोट खल्तीबाट निकालेर दिए।
उनलाई निको पार्न नसकिने पक्कापक्की भएपछि शान्तभवन अस्पतालबाट पशुपति आर्यघाटमा लाने मेलोमेसो गरिएको थियो
। त्यस बेलासम्ममा देवकोटा चेतनशील थिए र उनलाई आफ्नो सम्भावित मृत्युको बारेमा पनि धेरै कुराको ज्ञान भइरहेको थियो। त्यति बेलासम्म पनि डा. एडगार आर. मिलरले महाकवि देवकोटालाई रगत दिएर थप केही दिन बचाउने इच्छा दर्शाएका थिए । तर उनको प्रस्तावमा देवकोटाले भनेका थिए, "डाक्टर ! किन यी युवकका रगत खेर फाल्ने ? तपाईंलाई थाहा छ, म मर्ने भैसकेको छु । टार्न नसकिने कुरालाई किन लम्ब्याउने ?" देवकोटालाई रगत दिएर बचाउनेहरूप्रति उनले भदौ २६ गते कृतज्ञता ज्ञापन गरे । "दुई साहसी युवक भतिजा पद्मनाथ देवकोटा (लेखनाथ देवकोटाका कान्छा छोरा) र भोलामानसिंह थापा (पछि सहायक मन्त्री) ले मलाई रक्त प्रदान गरी २-४ दिनदेखि आजसम्म जियाए । उनीहरू चिरायु होऊन् । अब म मानवरक्त लिन्न र दिन चाहने व्यक्तिलाई धन्यवाद दिन्छु ।"
अस्पतालबाट पशुपति हिँडाइने बेलामा उनलाई हेर्न वासुदेव शर्मा लुइँटेल पनि शान्तभवन पुगेका थिए । लुइँटेल र देवकोटा खुबै मिल्थे। वास्तवमा लुइँटेलले देवकोटालाई सधैं आदर, सम्मान र श्रद्धा नै गरिरहेका थिए । त्यसैले लुइँटेललाई भेट्नेबित्तिकै देवकोटाले आत्मीयता बाँड्दै भने “मलाई अलिकति विष ल्याइदिनुभएको छ ? मलाई डाहा भइरहेछ ! मलाई चाँडै मारिदिनुहोस् तपाईंलाई धर्म हुन्छ । पण्डितजी ! मलाई विष खान दिनुहोस् म मर्छु ।"
देवकोटाले मृत्यु शय्यामा बसेर नेपाली र अंग्रेजी भाषामा तीनवटा कविता लेखे । उनले त्यति बेला लेखेको अन्तिम नेपाली कविता एउटा 'शून्यमा शून्यसरी' अंग्रेजीमा लेखेको 'लाइफ अफ द रिचेस्ट' हरि श्रेष्ठलाई दिए । साथै उनले अंग्रेजी भाषामा लेखेको अन्तिम कविता 'प्रमिथियन पेन आई बियर' चाहिँ डा. एडगार आर. मिलरलाई दिएका थिए । देवकोटा अस्पतालको शय्यामा छटपट-छटपट नै गरिरहेका थिए । उनको वेदना, चित्कार र अवस्था देख्नेजति सबैका आँखा त्यस बेला रसाइरहेका हुन्थे । उनी क्रन्दनको ज्वाला फुटाएर भनिरहेका थिए “म किन बाँचिरहेको छु ?" आर्यघाट लाने बेलामा उनलाई सेतो भोटो र सुरुवाल फेराइएको थियो । अन्तिम यात्रा स्वरूप शान्तभवन अस्पतालमा उनलाई मोटरमा राखियो । उनी सुतेको मोटर २०१६ साल भदौ २७ गते बिहान ५.३० बजे पशुपति आर्यघाटतिर हुइँकियो । त्यति बेला आफन्तमाझ उनले भनिरहेका थिए, "अब म चौबीस घण्टाभन्दा बढी बाँच्न पाउँदिनँ "।
उनको मृत्युलाई यति तमासा बनाइयो। रोगले थलिएर हाडछाला मात्र भएका देवकोटाको फोटो खिच्ने र कविता बाचन गर्न लगाइने काम भयो। भदौ २९ गते प्रधानमन्त्री बीपी कोइरालाका तर्फबाट निर्माण तथा सञ्चार मन्त्री गणेशमान सिंहले पशुपति आर्यघाट पुगी महाकवि देवकोटासँग उनको अन्तिम इच्छाबारे सोधेका थिए । मन्त्री सिंहसंग देवकोटाले आफ्नो ऋण र छोराहरुको पढाइबारे चिन्ता व्यक्त गरे । त्यो बेला महाकविको २२ हजार ऋण रहेछ । सरकारले पूरै ऋण तिर्ने बचन दिएकै दिन उनको निधन भयो ।
क्यान्सर रोगसँगको लामो सङ्घर्षपछि देवकोटाको विसं २०१६ साल भाद्र २९ साँझ (मदनमणि दिक्षितको अनुसार ६ बजे) काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित बागमती नदीको किनारमा रहेको आर्यघाटमा निधन भएको थियो। स्रोतः विकिपीडिया !!
Follow for more life.🙏🇺🇸