10/16/2025
"साले निहुँ खोज्छस् ।
मेरो बुवा माओवादी हो ।
तेरो टाउकोमा गो*ली दाग्दिन्छु ।",
जनआन्दोलन पछि शान्ति सम्झौता भएर माओवादी जंगलबाट शहर पसिसकेको थियो ।
फुटबल खेल्दा परेको झगडा पछि महेन्द्र मोरङ क्याम्पसको चौरीमा एउटा केटाले मलाई औंला देखाउदै थर्कायो । मलाई डर लाग्यो । खुट्टा लुरु लुरु काम्यो । मैले बोल्न सकिन । टाउको निहुँर्याएर अलि पर पुगेर बसें । मसँग भएका साथीहरुको दम पनि हरायो । नदेखे जस्तो गरे ।
त्यो बेलामा माओवादी , वाई सिएल भनेपछि खुब डर लाग्थ्यो ।
केहि गुण्डाहरु पनि त्यसको फाईदा उठाएर माओवादीको नाम बेचेर(?) व्यापारी देखि कर्मचारी थर्काउदै हिड्थे । चन्दा उठाउथे । आफुलाई भनेको टेन्डर पार्न देखि लिएर योजना पार्न सम्म लाग्थे ।
के अहिले यसरी नै जेनजीको नाममा थर्काउनेहरु आएको हो ?
उ बेला क्यामेरा खासै थिएनन् । ईन्टरनेट खासै थिएन । सुटुक्क आयो , थर्कायो, चन्दा लियो, गयो । अहिले सबै कुराको प्रमाण रहन्छ ।
रियल जेनजी को हो भन्ने दुविधा बिच भईरहेको यस्तो उच्छृखंल गतिविधि गर्नेहरुलाई कानुनको दायरामा ल्याउनै पर्छ ।
हो देशको सबै निकायहरु अति राजनितिकिकरण र भ्रष्टाचारले व्याप्त छ । तर त्यसको मतलब दादागिरि देखाउने होईन । प्रकृयामा जानु पर्छ । प्रकृयामा जान नसक्ने र कानुनी परिक्षण बिना चाहो जो होस् उसलाई थर्काउनुले र थर्काएको /कराएको देख्दा 'ओहो ठिक गरेछन् । यिनरुलाई यस्तै गर्नु पर्ने हो ।" भन्ने लाग्ला तर त्यसले दिर्घकालिन समाधान दिदैन ।
दिर्घकालिन समाधान भनेको त कानुनी र नितिगत बाटो मात्र हुने हो ।
हो बिग्रिएको ब्युरोक्रेसीलाई दवाब दिनु र निरन्तर खबरदारी गर्नु पनि पर्छ नै । तर त्यो पनि तरिकाले । आफुले पर्याप्त तयारी गरेर । तथ्याकं र प्रमाण संकलन गरेर ।
नत्र भिजिलान्ते पारामा गरिएको कामले त द्वन्द मात्र बढ्छ । सबै नराम्रा कर्मचारी छैनन् । राम्रो गर्नेहरुको मनोबल मात्र गिर्छ ।
अनि जेनजीको नाममा आफ्नो स्वार्थको रोटि सेक्नेहरुलाई अवसर मिल्छ ।
जसरी यो तस्विरमा देखिएको गण्डकी विश्वविद्यालयमा पनि जेनजी भन्दै एमाले, काँग्रेस, राजावादी र विप्लव माओवादी लगायतका युवाहरु पुगेका थिए । (कमेन्टमा स्क्रिनसट हेर्नुहोस् ।)