03/01/2026
प्रिय झापा–५ का मतदाताहरू,
म आफ्नै देशको माटोमा उभिएको छु, तर मनले बारम्बार सोधिरहेछ— काश, म पनि झापा–५ कै मतदाता भएको भए! म पनि एउटा मत हाल्थेँ… केवल एउटा मत, तर त्यो मत परिवर्तनको पक्षमा हुन्थ्यो। युवाले देखेको सपनाको पक्षमा हुन्थ्यो। सडकमा लड्दै ढलेका विद्यार्थीहरूको अधुरो आवाजको पक्षमा हुन्थ्यो। रगतले भिजेको स्कुल ड्रेसको पक्षमा हुन्थ्यो। रित्तिएका कक्षाकोठा र टुटेका परिवारहरूको पक्षमा हुन्थ्यो। सहिदका आमाहरूको निसासिएको न्यायको पक्षमा हुन्थ्यो।
तपाईंको हातमा रहेको त्यो मतपत्र साधारण कागज होइन रहेछ— त्यो हजारौं युवाको आशा रहेछ। जसले लाठी खाए, पानीका फोहोरा सहे, छातीमा गोली सहे तर परिवर्तन देख्न पाएनन्। उनीहरूको अधुरो यात्रा तपाईंको एक छापले पूरा हुन सक्छ रहेछ।
त्यो मतपत्र कति पवित्र रहेछ— किनकि कतिपय आमाहरू अझै पनि ढोका हेरिरहेका छन्। आधा जीवन सन्तानका लागि खर्चिएका ती आँखाहरू आज पनि न्यायको प्रतीक्षामा छन्। उनीहरूको मौन चिच्याहट तपाईंको मतले सुन्न सक्छ रहेछ।
हिजोसम्म लाग्थ्यो— मत हाल्नु अधिकार हो। आज महसुस भयो— यो त जिम्मेवारी रहेछ। तपाईंले लगाएको स्वस्तिक छाप कसैको न्यायको ढोका खोल्न सक्छ, कसैको अधुरो क्रान्तिलाई पूर्णता दिन सक्छ, कसैको आँसुको मूल्य तोक्न सक्छ।
मेरो मत यहाँबाट गौण छ। तर तपाईंको मत त्यहाँ निर्णायक छ।
यसैले folded हातले आग्रह छ— यो पटक सोचेर, सम्झेर, भविष्यलाई हेरेर मत हालिदिनुस्।
सुनेको थिएँ, न्याय नपाए भगवानले दिन्छन् रे।
यो पटक… तपाईं नै त्यो न्याय दिने भगवान बन्नुस्।
***nshah