07/21/2025
गलत सल्लाहको परिणाम – एउटा शिक्षाप्रद कथा
एउटा गाउँमा एकजना किसान बस्थे। उनका दुईवटा जनावर थिए — एउटा गधा र अर्को बोका।
गधा निकै मेहनती थियो। ऊ हरेक दिन किसानको खेतबाट बजारसम्म भारी बोक्थ्यो।
चर्को घाम होस् वा झरी, गधा कहिल्यै गुनासो नगरी मालिकको सेवा गर्थ्यो।
गधाको मेहनत देखेर किसान उसलाई राम्रो घाँस, पानी र कहिलेकाहीँ गुड वा कोमल हरियो घाँस खुवाउँथे।
यी सबै कुरा देख्दा बोका जल्थ्यो।
ऊ सोच्थ्यो —
“म त दिनभर खुला ठाउँमा रमाउँछु, उफ्रन्छु, दौडन्छु, तर मलाई त खासै केही मिठो खानेकुरा दिँदैन!
र यो गधा, जसले दिनभर भारी बोकेको छ, उसलाई त मालिकको विशेष माया गरिरहेको छ!”
यही सोचले गर्दा बोकाको मनमा डाहको आगो सल्कियो।
ऊ सोच्न थाल्यो —
“कसरी यो गधालाई मालिकको नजरबाट झार्ने?
कसरी आफू मालिकको माया कमाउने?”
एकदिन बोकाले गधालाई भन्यो,
“भाइ गधा! म त भगवानको लिला देखेर हाँसो आउँछ।
म त खुला आकाश मुनि रमाउँछु, जे मन लाग्छ त्यही गर्छु।
तर तिमी भने दिनरात काम गर्छौ,
र तिम्रो पिठीउमा सधैं भारी हुन्छ।
त्यसको सट्टा के पाउँछौ त?”
गधा अलिकति दुःखी हुँदै भन्यो,
“भाइ, मलाई पनि कहिलेकाहीँ नरमाइलो लाग्छ।
तर के गरौँ, यही मेरो कर्म हो, यही मेरो काम हो।”
त्यसमा बोकाले चालाकीपूर्वक भन्यो,
“एक उपाय छ!
एउटा दिन बिरामीको नाटक गर।
कुनै खाल्डोमा खस ।
त्यसपछि केही दिन तिमी मजाले खाउँ, सुत, रमाउँ।
मालिक त सोच्छन् कि अब तिमी कमजोर भयौ।”
गधा सरल स्वभावको थियो।
उसले बोकाको कुरा पत्यायो।
अर्को दिन गधा योजना अनुसार खाल्डोमा आफैं खस्यो।
ठूलो आवाजमा कराउँदै चिच्यायो।
खस्दा ऊ साँच्चिकै घाइते भयो।
खुट्टामा चोट आयो, शरीरभरि चोट लाग्यो।
अब उसले साँच्चै हिँड्नै सक्दैनथ्यो।
किसानले थाहा पाएपछि हडबडाएर पशु डाक्टर बोलाए।
डाक्टर आएर गधालाई जाँच गरे र भने,
“गम्भीर चोट छ। केही दिन आराम चाहिन्छ।
र एउटा कुरा —
गधाको घाउमा बोकाको बोसो लगाउनुपर्छ,
त्यसले छिट्टै निको हुन्छ।”
अब किसानसँग अरू उपाय थिएन।
उसले बोकातिर हेरे र छुरा उठायो।
बोका झसंग भयो!
काँप्न थाल्यो।
रुन थाल्यो —
“हाय! म त केवल चालाकी गरिरहेको थिएँ।
सोचेको थिएँ गधालाई दु:ख दिई म आफै लाभ उठाउँछु,
तर अब त म आफैँ फँसेँ!”
उसका आँखाबाट आँसु झर्न थाले।
उ बारम्बार पश्चात्ताप गर्न थाल्यो —
“हाय! मेरो बुद्धिमा डाहको आगो लाग्यो,
र मैले यस्तो गलत सल्लाह दिएँ।
अब त्यसकै परिणाम भोग्नुपर्यो।”
तर अब पश्चात्तापले केही फर्क पर्दैनथ्यो।
किसानले बोकालाई काटे
र गधाको घाउमा उसकै बोसोको मलम लगाउन थाले।
👉 शिक्षा:
जो अरूलाई दु:ख दिने चाल बनाउँछ,
ऊ आफैँ त्यसमा फस्छ।
डाह र चालबाजीको परिणाम सधैं नराम्रो हुन्छ।
अरूको सफलतामा जल्नु हुँदैन,
बरु आफू पनि मेहनत गरेर अघि बढ्नुपर्छ।
देवीलाल पाण्डे ✍️