10/08/2025
यी केही झिनामसिना कुरालाई छाड्ने हो भने जेन– जी आन्दोलनपछि हामी खुसी नहुनुपर्ने कुनै कारण छैन । जस्तैः
– विश्व बैंकले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर ५.२ प्रतिशतबाट घटेर २.१ कायम भएको छ ।
– दुबही र दक्षिण कोरियासहित विश्वका विभिन्न देशले भिसामा प्रतिबन्ध लगाएका छन् भने मलेसियालगायत थुप्रै देशले कडाइ गरिरहेका छन् ।
– अमेरिकासँगै विश्वका केही समृद्ध देशले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न निर्देश गरेका छन् ।
– थुप्रै आन्दोलन र जनक्रान्तिको बलमा खर्बौं–खर्ब रकम खर्च गरेर बनाएको संविधानको मर्ममै प्रहार भएको छ ।
– संसद भवन र सिंहदरबार मात्रै होइन, सुशासनको नारा लगाउँदै भएको आन्दोलनले सर्वोच्च अदालत र अख्तियारसमेत जलाएको छ ।
– सरकारभन्दा माथि एउटा एनजिओ छ । र, त्यो देशको संविधान र सरकारभन्दा माथि छ ।
– फागुनमा चुनाव तोकिएको छ तर चुनाव हुने कुनै आधार तयार छैन ।
– प्रहरीको मनोबल यति गिरेको छ कि, उपत्यकाका बिटका प्रहरीलाई साँझ परेपछि वृत्तमा ल्याउनुपरेको छ ।
– प्रहरीसँगै सुरक्षा निकायलाई नै सरकारमाथि भरोसा छैन । कर्मचारी र सरकारबीचको सम्बन्ध टुटेको जस्तै भएको छ ।
– देश नराम्ररी संक्रमणकालमा फसेको छ र यसले कहिले मुक्ति पाउँछ भन्ने टुंगो छैन ।
– देशमा दुई–चार करोड रुपैयाँ लगानी गर्न पनि डराउनुपर्ने अवस्था छ । लगानीको सुरक्षा गर्ने कोही छैन ।
– दुई चार हजार आक्रोशित भीडले चाह्यो भने देशको सम्पूर्ण सिस्टम एकै झट्कामा ध्वस्त पार्न सकिने रै’छ भन्ने संदेश प्रवाहित भएको छ ।
– अझै पनि विभिन्न समूहले आन्दोलनको घोषणा गरिरहेका छन्, त्यसले कुन रुप लिने हो भन्ने अनिश्चित छ ।
हो, यी केही झिनामसिना कुरालाई छाड्ने हो भने हामी पनि खुसी नहुनुपर्ने कुनै कारण छैन । आउनुस्– दलका नेताको घर जलेको र नागरिक सरकार बनेकोमा हर्षबढाइँ गरौं !