06/24/2026
एमालेका सच्चा, असल र सोझा कार्यकर्ताहरूलाई अनुरोध–
यदि तपाईं इमान्दार एमालेका समर्थक तथा मतदाता हो भने यी कामहरू भुलेर पनि नगर्नुस्। यदि तपाईं असल एमालेका समर्थक होइन भने त गर्नुस्। अब तपाईंकै इच्छा ।
तपाईं असल एमालेका समर्थक हो भने के–के नगर्नुस्?
१. पार्टीले राखेका विरोध कार्यक्रमहरूमा नजानुस्।
२. पार्टीमा यही नेतृत्व र यिनै नेताहरू रहुन्जेल पार्टीको आदेश नमान्नुस्।
३. हाल सरकारले गरिरहेका अनुसन्धानमा सहयोगी बन्नुस्, तर अवरोधक नबन्नुस्।
४. यदि एमालेलाई जीवित राख्ने हो भने हालसम्म एमालेबाट सांसद, मन्त्री र प्रधानमन्त्री भएका नेताहरूको सम्पत्ति छानबिन तथा अनुसन्धान गर्न सारथि बन्नुस्।
५. भुलेर पनि हालका एमाले नेताहरूका पछि नलाग्नुस्। अब तपाईं आफैं नेता बन्नुस्। सत्यनिष्ठ नेताहरू भएको एमाले बनाउनुस्।
यसो भनिरहँदा कतै यो एमालेविरोधी सन्देश हो भनेर कत्ति पनि नसम्झनुहोला। एमालेलाई पुनर्जीवन दिन अब यो अपरिहार्य छ। किनभने जनताले भरोसा गरेर सरकारमा पठाएका एमालेका नेताहरूले कसरी सम्पत्ति जोडेका रहेछन्, कसरी जनताको कर सरकारमार्फत लुटेका रहेछन् भन्ने कुरा हाल पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेलकै उदाहरणबाट हेरौं।
२०५१ सालमा एमाले नेता विष्णु पौडेलले आफूलाई असली सुकुम्बासी घोषणा गरेका थिए। त्यसपछि उनी लगातार आठ पटक मन्त्री भए। यो अवधिमा उनले एक लाख होइन, एक करोड होइन, एक अर्ब होइन, करिब २६ अर्ब बराबरको चल-अचल सम्पत्ति जोड्न सफल भएका रहेछन्। न जागिर, न व्यापार, न विदेश गएर काम गरेका। केवल राजनीति गरेर उनले जोडेको यो अर्बौंको सम्पत्ति देश लुटेको प्रत्यक्ष प्रमाण होइन र?
अर्थमन्त्री भएका बेला पौडेलले बिचौलिया दीपक भट्टलगायतलाई सहयोग गरी आर्थिक लाभ लिएको प्रमाणहरू संकलन गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ। यसरी आर्जन गरेको सम्पत्ति विभिन्न कम्पनीहरूमा अन्य व्यक्तिको नाममा राखिएको समेत अनुसन्धानबाट पत्ता लागिसकेको छ। श्रीराम टोबाको कम्पनीमा पौडेलको पैसाबाट भट्टले ३० करोड रुपैयाँबराबरको सेयर निःशुल्क लिएको खुलेको छ। उक्त सेयर तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरेको देखिए पनि त्यसबाट धेरै गुणा लाभांश लिइसकेको देखिन्छ। विभागले श्रीराम टोबाको कम्पनीका सञ्चालकसँग बयान लिएर यसको पुष्टि गरिसकेको छ।
नीतिगत रूपमा कम्पनीलाई फाइदा हुने निर्णय गरेर उनले उक्त सेयर हात पारेका हुन्, जसमा भट्टले मध्यस्थकर्ताको भूमिका खेलेका थिए। पौडेलले हिमालयन रिइन्स्योरेन्स र सातवटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिन सघाएको तथा सुपारी आयातमा सहजीकरण गरेबापत करोडौंको लाभ लिएको पनि अनुसन्धानबाट खुलेको छ। बिचौलियाको प्रभावमा उनले ३० करोडभन्दा बढी लाभ लिएको विभागको निष्कर्ष छ।
त्यस्तै, बुटवलमा एउटा गाई फार्मको नाममा ३५ बिघा जग्गा भेटिएको छ। यो करिब चार अर्ब रुपैयाँभन्दा बढी मूल्यको जमिन हो, जुन एक सामान्य व्यक्तिको नाममा लुकाइएको समेत अनुसन्धानबाट पुष्टि भएको छ। सो फार्ममा मंगलबार विभागको टोली पुगेर विवरण संकलन गरेको छ।
जनकपुर चुरोट कम्पनी निजीकरण गरेर नयाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएबापत पनि उनले लाभ लिएको विभागको निष्कर्ष छ। अन्य काम भए पनि जनकपुर चुरोट कम्पनीको लाइसेन्स अन्य कम्पनीलाई दिने प्रक्रियाको विषयमा मन्त्रिपरिषद्बाट निर्णय गराइए पनि कार्यान्वयन भइसकेको थिएन।
उपत्यकामा १५ करोड रुपैयाँ मूल्यको आलिसान घर र जग्गा, अन्य पाँच स्थानमा घडेरी तथा विभिन्न मारवाडी व्यापारीसँग व्यापारिक साझेदारी विष्णु पौडेलका रहेको छ। यसरी सबै सम्पत्ति जोड्दा करिब २५ अर्बभन्दा बढी देखिन्छ। यो भनेको विष्णु पौडेलले आफू बाहेक नजिकका साथीभाइ तथा नातागोताका नाममा राखिएको सम्पत्तिसमेत जोड्दाको हिसाब हो। किनकि सबै सम्पत्ति आफ्नै नाममा राख्दा राज्यको आँखा पर्न सक्छ भन्ने डरले नेपालका धेरै नेताहरूले आफ्ना विश्वासिला व्यक्तिहरूको नाममा सम्पत्ति राख्ने चलन रहेको छ।
अब एमालेका असल समर्थक हो भने सोच्नुस्, विष्णु पौडेलले मात्र होइन, एमालेबाट सांसद भएका, मन्त्री भएका, प्रधानमन्त्री भइसकेका तथा उनीहरूका सचिवालयमा काम गरेका तमाम पात्रहरूले कति सम्पत्ति जोडे होलान्? सोझो अनुमान गर्नुस् त। एमालेका प्रत्येक नेताले भ्रष्टाचार गरेर विष्णु पौडेलझैं सम्पत्ति जोडेका छन्।
त्यसैले हाल एमालेमा रहेका करिब १०० जना नेताहरूलाई हटाएर, उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याई एमालेलाई पुनर्गठन गर्नुस् र जीवित राख्नुस्।
तपाईं–हामी वर्षौंदेखि मिहिनेतपूर्वक काम गर्दा बिहान–बेलुका एक छाक खान मुस्किल छ। डेरा भाडा तिर्न सकेका छैनौं। केही मिठो–मसिनो खान पाएका छैनौं। अनि यस्ता विष्णु पौडेललाई जोगाउन सडकमा निस्कने भूल कदापि नगर्नुस्।
भोलि रास्वपाका कुनै नेताहरूले पनि विष्णु पौडेलकै झैं राज्य दोहन गरेको प्रमाणित भए उनीहरूलाई पनि घिसारौंला। अहिले पहिला एमालेका सम्पूर्ण नेताहरूको सम्पत्ति जफत गर्दै उनीहरूलाई कारबाही गर्न सहयोग गरौं।
एउटा नेताले गरेको भ्रष्टाचारको पैसाले एउटा जलविद्युत् आयोजना बन्न सक्छ भने यस्ता हरेक नेताको अकुत सम्पत्ति राज्यले फिर्ता ल्यायो भने यो देशको आर्थिक स्तर कति माथि पुग्ला? एकपटक सोझो बनेर सोचौं त। एउटा सोझो एमाले समर्थक भएर सोच्नुस है । एमाले मात्र बनेर होइन नि ।