02/23/2026
राजनैतिक ब्यंग्यः
पुरानो पुस्ताको "झोला" र नयाँ पुस्ताको "घण्टी"
- विमल नेपाल, अस्टिन, टेक्सस
कांग्रेस, कम्युनिष्ट र राजावादी साथीहरू हो, एकछिन आफ्ना पार्टीका झण्डाहरू बिसाएर शितलमा बसौँ र चिसो दिमागले सोचौँ।
अचेल बजारमा यो 'घण्टी' बजाउँदै हिँड्ने मान्छेहरू कुनै अर्कै ग्रहबाट झरेका एलियन होइनन्। यिनीहरू त हिजो तपाईंकै 'रुख' मुनि शितल तापेका, देश बन्छ कि भनेर 'सूर्य' लाई अर्घ दिएका, अनि 'हलो' जोतेर राजा आउँछन् कि भनी बाटो हेरेका तपाईंकै पुराना दौँतरीहरू हुन्। फरक यत्ति हो—तपाईंहरू पार्टीमा "जुका" जस्तै टाँसिनुभयो, उनीहरूले चाहिँ तपाईंका पार्टीको उपादेयता सकिएको पत्तो पाएर पार्टी छाडे, विश्वास त्यागे।
नेपालका यो हुनेखाने र 'एलिट' भनिने कांग्रेसीहरूको त झन् कुरै नगरौँ। यिनलाई देश डुबेकोमा चिन्ता छैन, देउवा बाजेले बालुवाटारमा बसेर पेगका पेग रित्याएको भरमा शासन गरून वा पार्टीले जतिसुकै भ्रष्टाचार गरोस्, कि सरकार जतिसुकै निकम्मा होस्, यिनलाई त बस 'जन्मजात कांग्रेसी' हुनुमा एउटा छुट्टै घमण्ड छ। यो राजनीति होइन, यिनको लागि त यो दाइजोमा आएको पुरानो दराज जस्तो भो—जतिसुकै थोत्रो भएनि पनि फाल्न नहुने! एमालेसँग मिलेर देशको दोहन गर्दा पनि यिनको 'कांग्रेसी रगत' तात्तैन, बरु उल्टै गर्वले छाती फुलाउँछन्।
अनि हाम्रा कम्युनिस्ट दाजुभाइ? यिनको त झन् 'ब्रेनवास' को कथा सुन्दा पनि अचम्म लाग्छ। भूमिगत कालमा "सुनौलो नेपाल" को सपना बाँडेर विद्यार्थीको भविष्य वनवास पठाउने यिनै हुन्। ३०-४० वर्षदेखि एउटै असम्भव नाराको नशामा लठ्ठिएका यी कार्यकर्ता न कांग्रेस हुन सक्छन्, न राप्रपा। यिनको दिमागमा यस्तो सफ्टवेयर हालिएको छ कि नेताले दिउँसै रात पर्यो भन्यो भने यिनीहरू लालटिन बालेर हिँड्छन्। उनीहरू कांग्रेसभन्दा केही उद्यमी र मेहनती त देखिन्छन्, तर नयाँ सोच राख्न यिनलाई पार्टीको लेबी र ह्वीपले कहिल्यै दिँदैन।
हलोवालाहरूको त झन् कुरै बेग्लै! कांग्रेस र कम्युनिस्टले देश लुटे भनेर बर्बराउँछन्, तर विकल्प खोज्न डराउँछन्। राजा भए यो देश कहाँ पुगिसक्थ्यो भन्ने विश्वास गर्ने यी मान्छेहरू आफ्नै धर्म र संस्कृतिप्रति जति गर्व गर्छन्, परिवर्तनको नाम सुन्नेबित्तिकै त्यति नै लुगलुग काम्छन्।
वास्तवमा घण्टी बजाउनेहरू र तपाईंहरूमा एउटै ठुलो खाडल छ—तपाईंहरू बाउ, बाजे र छोरा नातिसम्म एउटै पार्टीको खोरमा थुनिनुलाई धर्म मान्नुहुन्छ। तर घण्टी बजाउनेहरू कुनै पार्टीको पेवा होइनन्। उनीहरू त परिस्थिति अनुसार आफूलाई बदल्न सक्ने 'अपडेटेड' र प्रगतिशील मान्छे हुन्। तपाईंहरू जुका जस्तै एउटै शरीरमा टाँसिएर बस्ने विवेकहीन कार्यकर्ता हुनुभयो, उनीहरू चाहिँ अब यो थोत्रो व्यवस्था र ३० वर्षदेखिको असफल नीतिले देश चल्दैन भनेर विद्रोह गर्ने 'अग्रगामी' भए।
तपाईंलाई लाग्दो हो—यी घण्टीवालाहरूमा अनुभव छैन, परिपक्वता छैन, कतै ठगी र भ्रष्टाचारको गन्ध छ। तपाईंलाई यस्तो किन लाग्छ थाहा छ? किनभने तपाईंकै पार्टीभित्र त्यस्ता बेथितिको यति ठूलो डुङ्गुर छ कि तपाईंलाई सबै नयाँ पार्टीहरू पनि आफ्नै पार्टी जस्तै 'खोटी' लाग्छन्। यो तपाईंको दृष्टिदोष हो। हो, नयाँ पार्टी परिपूर्ण नहोला, तर उनीहरूको परिवर्तनप्रतिको हुटहुटी तपाईंका थोत्रा पार्टीहरू भन्दा सयौँ गुणा बढी छ।
तपाईं अझै पनि परिवर्तन हुन चाहनुभएको छैन भने एकचोटि आफ्नै घरभित्रको नयाँ पुस्तालाई सोध्नुहोस। तपाईंका छोराछोरीको सोच्ने तरिका बदलिइसकेको छ। तपाईंको अगाडि मुख नखोले पनि उनीहरू गोप्य रूपमा घण्टीमा भोट हाल्न तयार छन्। उनीहरूमा देशप्रतिको नयाँ भरोसा छ। अब प्रश्न तपाईंलाई—अझै कति दशक 'जुका' वा 'झोले' बनेरै बस्ने विचार छ? कि अब त चेत खुल्छ? ोच #बालेनशाह
By Bimal Nepal