
06/08/2025
श्री महुन्याल मन्दिरमा महायज्ञको चौथो दिन भव्य रूपमा सम्पन्न — ८२ वर्षीय दम्पती तुलादान गर्दै ,,
२०८२ श्रावण २१ गते ,बुधबार
संवाददाता :विशाल साउँद
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ११ स्थित कान्तिपुरमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री महुन्याल मन्दिर परिसरमा आयोजित महायज्ञ आज आफ्नो चौथो दिनमा प्रवेश गर्दै विशेष धार्मिक र सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।धार्मिक चेतना, सामाजिक समर्पण र सांस्कृतिक जागरणको उद्देश्यले आयोजना गरिएको महायज्ञको आजको दिनमा गौरीगंगा नगरपालिका–११, शिपपुर निवासी ८२ वर्षीय दम्पती तुल्छी देवी खाती र धन्जित खातीद्वारा गरिएको तुलादान कार्यक्रमले विशेष आकर्षण र आस्था बटुल्न सफल भएको छ।उक्त धार्मिक अनुष्ठानमा सहभागी हुनुभएका जेठा छोरा शालिभान खाती, माहिला छोरा करनसिंह खाती र कान्छो छोरा प्रकाश खातीको समर्पण तथा सक्रिय भूमिकाले पारिवारिक एकता र संस्कारको अनुकरणीय उदाहरण प्रस्तुत गरेको थियो। परिवारको संयुक्त सहभागितामा सम्पन्न तुलादानले महायज्ञमा उपस्थित सबै श्रद्धालुहरूको हृदय स्पर्श गरेको थियो।आजको कार्यक्रममा प्रमुख अतिथिका रूपमा खप्तड बहुमुखी क्याम्पसका क्याम्पस चिफ श्री मदन जोशीको गरिमामय उपस्थिति रहेको थियो। उहाँले धार्मिक कार्यले समाजमा सकारात्मक ऊर्जा फैलाउने, पारिवारिक एकता मजबुत बनाउने र परम्परागत संस्कारको संरक्षणमा टेवा पु¥याउने बताउँदै आयोजक समिति र सहभागी परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।श्री महुन्याल मन्दिर परिसरमा चलिरहेको यो महायज्ञ साउन १८ गतेदेखि २४ गतेसम्म सञ्चालन हुँदैछ। महायज्ञको हरेक दिनमा विभिन्न धार्मिक अनुष्ठान, प्रवचन, पूजाआजा, भजनकीर्तन र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। स्थानीय बासिन्दा, धार्मिक श्रद्धालु, युवा तथा महिलाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई जीवंत बनाइरहेको छ।महायज्ञ आयोजक समितिका अनुसार, यस्ता धार्मिक आयोजनाले धार्मिक पर्यटनको प्रवर्द्धन, सामाजिक समरसता तथा धार्मिक आस्था जागरणमा सकारात्मक प्रभाव पारिरहेको छ। साथै यस महायज्ञले श्री महुन्याल मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वलाई अझ उजागर गराउने विश्वास व्यक्त गरिएको छ।अन्त्यमा, आयोजक समिति तथा स्थानीय नेतृत्वले महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण श्रद्धालु, सामाजिक संस्था, स्वयंसेवक, सुरक्षाकर्मी तथा सम्पूर्ण स्थानीय समुदायलाई हार्दिक आभार प्रकट गर्दै बाँकी दिनहरूमा समेत उपस्थित भई पुण्य लाभ लिन सबैलाई अनुरोध गरेका छन्।