09/09/2026
सिन्धुली समाज USA द्वारा बाढीपीडित परिवारका लागि ४ लाखभन्दा बढी सहयोग संकलन
— सञ्जोग आचार्य, न्यूयोर्क
न्यूयोर्क — बाढीका कारण ज्यान गुमाएका तथा अझै बेपत्ता रहेका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले सिन्धुली समाज USAले सञ्चालन गरेको सहयोग अभियानमा हालसम्म रु. ४ लाख ($२,६८८) भन्दा बढी रकम संकलन भएको छ।
सिन्धुलीबाट कामको सिलसिलामा नुवाकोट–रसुवा जाने क्रममा बाढीमा परी ज्यान गुमाएका तथा अझै बेपत्ता रहेका व्यक्तिका परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले समाजले उक्त अभियान सञ्चालन गरेको हो।
अभियानमा नेपाली समुदायका विभिन्न व्यक्ति तथा सहयोगी मनहरूले आर्थिक सहयोग गर्दै आएका छन्। समाजले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै अभियानलाई थप प्रभावकारी बनाउन समुदायका सबैलाई साथ दिन आग्रह गरेको छ।
सिन्धुली समाज USA ले रु. ५ लाखसम्म सहयोग रकम संकलन गर्ने लक्ष्य राखेको छ। लक्ष्य पूरा भएपछि संकलित रकम बाढीपीडित तथा बेपत्ता व्यक्तिका परिवारलाई आर्थिक सहयोगका रूपमा उपलब्ध गराइने समाजले जनाएको छ।
बाढीका कारण आफन्त गुमाएका र परिवारका सदस्य अझै बेपत्ता रहेका परिवारलाई यस कठिन अवस्थामा केही राहत र सहारा प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
समाजले सानो–ठूलो जुनसुकै सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत पुग्ने भन्दै आफ्नो क्षमताअनुसार सहयोग गर्न नेपाली समुदाय तथा सम्पूर्ण सहयोगी मनहरूमा अपिल गरेको छ।